माईक्राे बसमा भए आधुनिक र पप गीतहरु सुन्न पाईन्थ्याे। नाईट-बस भने लाेक-दाेहाेरी गीत घन्काउँदै एकनासले पृथ्वी राजमार्गमा कुदिरहेकाे थियाे। पाेखरा सम्मकाे हाम्राे यात्रालाई यही बसले सार्थकता दिदैं थियाे। दाेहाेरी गीत कमै सुनेका हामीहरु, नजाने पनि भाका मिलाउँदै रमाइलो गरिरहेका थियौं। कतिबेला आँखा लागेछ पत्तो नै पाईएन। भाेलिपल्ट बिहान बससंगकाे हाम्राे साथ छुटिसकेकाे थियाे तर रातभर सुनेकाे गीत भने कानमा अझै गुञ्जिरहेकाे थियाे। बसबाट झरेपछि हाम्राे पहिलाे काम हाेटल खाेज्ने थियो। बल्लतल्ल हाेटेल भेटियाे। हाेटेलमा झाेलाहरु राखेर हामी फेवाताल तिर लाग्यौं। केहीबेरकाे डुङ्गा सयर र तालबाराहीकाे दर्शनपछि हाम्राे यात्रा पाताले छाँगाे तिर साेझियाे। डेभिड-फल्सकाे नामले विश्व प्रख्यात पाताले छाँगाेकाे बाहिरी सुन्दरता हेरेपछि जमीनबाट करिव १५० मीटर तल अवस्थित गुप्तेश्वर गुफा हेर्न गयौं।

0 Comments